Mon. Apr 29th, 2024

चीनमा रोकिएका १४ नेपाली स्वदेश फिर्ता

संखुवासभा/ताप्लेजुङ, २०७६ माघ २१ गते मंगलबार

किमाथांका नाकाबाट चीनमा काम गर्न भएका एक बालकसहित १४ नेपाली कामदार १६ दिनपछि नेपाल फर्किएका छन्। चाँगा बजारमा काम गर्न भएका नेपाली कामदार चीनले नाका बन्द गरेपछि उतै रोकिएका थिए। कोरोना भाइरसका कारण चीनले किमाथांका र ओलाङचुङगगोला नाका बन्द गरेको हो।

चाँगामा काम गर्न गएका संखुवासभाका १२ जनालाई मंगलबार किमाथांकाबाट नेपाल फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो।

स्थानिय प्रशासन, सीमा प्रहरी चौकी, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट, भोटखोला गाउँपालिकाको पहलमा करिव डेढ घण्टाका लागि नाका खुला गरी चाँगामा रहेका नेपालीकालाई स्वदेश फर्काइएको सहायक प्रजिअ घिमिरेले बताउनु भयो।

ताप्लेजुङका दुई महिलालाई भने भोटखोलाकै रिदकबाट ताप्लेजुङ पठाइएको छ। चाँगामा रोकिएका नेपाली पसल गर्ने र होटलमा ज्यालादारीमा काम गर्दै आएको खुलेको छ।

भोटखोला गाउँपालिका(१ का वडाध्यक्ष तेन्छेवी शेर्पा, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका इन्स्पेक्टर देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथांकाको टोलीले मंगलबार दिउँसो जिम्मा बुझेको हो।

‘सीमानामा रहेको गेटमा हामी स्वास्थ्यकर्मीसमेत लिएर गयौं, उताबाट पनि चिकित्सकसँगै आए, दुवै तर्फबाट स्वास्थ्यपरीक्षण गरेर लिएर आयौं, वडाध्यक्ष शेर्पाले भन्नुभयो।
फर्काइएकामा भोटखोला गाउँपालिकाको विभिन्न वडाका छन्। एक बालक पनि छन्। उनीहरुलाई केही दिन किमाथांकामै स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ। हालसम्म उनीहरुका कुनै स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य चौकी प्रमुख फुटिक भोटियाले बताउनु भयो भनि अन्नपूर्ण पोष्ट अनलाईनले समाचार प्रकाशित गरेको छ ।

Facebook Comments