Sat. Oct 19th, 2024

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता, प्रधानमन्त्री भन्नुहुन्छ : नेपाल-चीन सम्बन्ध बहुआयामिक

- अध्यक्ष लि चान्सुको नेपाल भ्रमण

काठमाण्डौं, २०७९ भदौं २८ गते मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा भएको सो भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताउनु भयो ।

अध्यक्ष ली चान्सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलसंगको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा लीले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनुभयो ।

उहाँले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिनुभयो । अध्यक्ष लीले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गर्नुभयो ।

उहाँले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिनुभयो । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताउनुभयो ।  रासस

Facebook Comments