Sat. Oct 19th, 2024

पार्टीमा उत्तराधिकारीहरू तयार होऊन् भन्ने मेरो सपना : प्रचण्ड

फाइल फोटो

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २२ गते बुधबार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्ना उत्तराधिकारीहरू तयार हुन् भन्ने आफ्नो सपना रहेको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज काठमाण्डौमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रा उत्तराधिकारीहरू तयार होऊन् भन्ने आफ्नो सपना रहेको बताउनु भयो ।

पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रचण्डले भन्नुभयो, ‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरें । जनयुद्धको पनि नेतृत्व गरें । संविधानसभाको पनि नेतृत्व गरें । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना राम्रा उत्तराधिकारीहरु तयार होउन् भन्ने छ ।’

कार्यक्रममा अर्थमन्त्री समेत रहनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष प्रचण्डप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष प्रचण्डले पुल्पुल्याएको उहाँको भनाइ थियो । उहाँले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनु भयो । जवाफमा अध्यक्ष प्रचण्डले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका रहेको बताउनु भयो । प्रचण्डले भन्नुभयो- ‘जनार्दनजीले भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा । म तपाईहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका छ ।’

अध्यक्ष प्रचण्डले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताउनु भयो । उहाँले सडकको हिरो युवा र विद्यार्थीहरू भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताउनु भयो ।

 

Facebook Comments