Sat. Oct 19th, 2024

राहदानी विभागले आइतवारदेखि अण्डरग्राउण्डमा पार्किङ खुला गर्ने

काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । काठमाण्डौं महानगरपालिकाले शुक्रवार बेसमेन्टमा राखिएका कुर्सी हटाइदिएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा ग्राहकका लागि प्रतीक्षालय बनाइएको क्षेत्रमा पार्किङ खुल्ला गर्ने भएको छ ।

विभागले शुक्ररवार अपराह्न एक सूचना जारी गर्दै पार्किङ खुल्ला गर्ने जानकारी गराएको हो । विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा  सवारी साधन पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ ।

विभागले उक्त स्थानमा कर्मचारीहरूको लागि पार्किङको व्यवस्था गरे पनि सेवाग्राहीको लागि भने पार्किङ गर्न दिइएको थिएन । उक्त स्थानमा सेवाग्राहीलाई बस्नका लागि व्यवस्था गरिएकामा महानगरले त्यसलाई हटाएर पार्किङका लागि खाली गराएको हो । केही दिनदेखि काठमाण्डौं महनगरपालिकाले नक्साविपरीत बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रताका साथ अघिबढाएको छ ।
यसै बीच राहदानी विभागले बेसमेन्टमा पार्किङ खुला गर्ने सूचना प्रकाशित गरेकोमा महानगरपालिकाका मेयर बालेन शाहले प्रशंसा गर्नु भएको छ । मेयर शाहले शुक्रवार साँझ एक वक्तव्य जारी गरी भन्नुभएको छ, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सँधै रहनेछ ।’
मेयर शाहले नियमको पालना गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिन पनि उहाँले महानगरवासीसँग आग्रह गर्नुभएको छ ।

Facebook Comments