Sat. Oct 19th, 2024

ज्याला नपाएको विरोधमा उत्रिएका आप्रवासी कामदारलाई कतारले देश निकाला गर्यो

काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार । ज्याला नपाएको विरोधमा उत्रिएका आप्रवासी कामदारलाई कतार सरकारले देश निकाला गरेको छ ।

कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय अगाडि अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन् । त्यस लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको बीबीसीले जनाएको छ ।

तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेहरुमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन् । कतार सरकारले देश निकाला गरिएका कामदारहरूले ‘सुरक्षा कानुन’ तोडेको बताएको छ । सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रङ्गशाला र अन्य पूर्वाधार निर्माण थालिएको थियो । आउँदो नोभेम्बर महिनामा कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।

अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण र इन्जिनियरिङमा संलग्न छ । कतारले अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको बताएको छ ।

Facebook Comments