Sat. Oct 19th, 2024

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा संवैधानिक अदालतद्वारा निलम्वित

काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार । कानुनले तोकेको आठ वर्षे कार्यकाल सकिएको भन्दै संवैधानिक अदालतले प्रधानमन्त्री प्रयुत चान ओचालाई निलम्बन गरेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

थाइल्यान्डमा सन् २०१७ मा बनेको संविधानले एक व्यक्ति प्रधानमन्त्री पदमा आठ वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरेको छ । सन् २०१४ मा प्रधानमन्त्री बनेका प्रयुतको कार्यकाल यही कानुनी व्यवस्थाअनुसार सकिने भन्दै विपक्षी दलहरूले संवैधानिक अदालतमा रिट दायर गरेका हुन् । तर प्रधानमन्त्री प्रयुतका समर्थकहरूले भने सन् २०१७ मा संवैधानिक व्यवस्था भएपछिको कार्यकाल मात्रै गणना गरेर आठ वर्ष कार्यकाल हुनुपर्ने दाबी गर्दै आएका थिए ।

सन् २०१७ मा सेनाले बनाएको संविधान लागू भएपछि थाइल्यान्डमा सन् २०१९ मा चुनाव भएको थियो । विवादास्पद चुनाव जितेका प्रयुत प्रधानमन्त्री भएपछि सन् २०२० मा सरकार विरोधी प्रदर्शनहरू भएका थिए । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नभएको, अर्थतन्त्र कमजोर भएको लगायतका आरोपको सामना गरिरहेका प्रधानमन्त्री प्रयुतले अहिले संवैधानिक व्यवस्थाको सामना गर्नुपरेको छ ।

प्रयुत प्रधानमन्त्रीबाट निलम्बनमा परेपछि अब सेनाका पूर्व प्रमुखसमेत रहेका उपप्रधानमन्त्री प्रवीत वोङ्सुवान अन्तरिम प्रधानमन्त्री बन्ने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

Facebook Comments