Sat. Oct 19th, 2024

एमालेमाथि निषेधको राजनीति नगर्न प्रधानमन्त्रीलाई एमाले अध्यक्ष ओलीको आग्रह

काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुहुँदै प्रतिस्पर्धाको राजनीतिलाई अन्यथा नमानी प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुने बताउनुभएको भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ओलीले  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग  सम्बन्धी प्रतिनिधिसभामा पेश गरिएको विधेयक, राष्ट्रपतिले सन्देशसहित संसद्मा फिर्ता पठाउनुभएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास गरिएको विषयमा प्रतिपक्ष दलसँग छलफल नभएकोमा ध्यानाकर्षण गराउनुभएको उपाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले जताततै भ्रष्टाचार बढ्दै जाँदा मंहगीले जनता मारमा परेकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

यसैगरी, अध्यक्ष ओलीले मङ्सिर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीले उठाउनुभएको विषयहरूलाई आफूले सकारात्मक रुपमा लिएको र सत्ता गठबन्धनमा पनि त्यसबारे छलफल गर्ने बताउनुभएको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको भेटवार्तामा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो । रेडियो नेपाल

Facebook Comments