Sat. Oct 19th, 2024

नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ४ गते शनिबार । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन भएको छ ।

७५ वर्षका गिरीको उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा आज राति ९ः३० बजे निधन भएको अस्पतालका एक अधिकारीले बताएका छन् ।

प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गर्नुभएका सांसद गिरी साउन ९ गते मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । राष्ट्रपति भण्डारीले मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका सांसद गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

बिहान ११ बजे अस्पताल पुग्नुभएका राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँको स्वास्थ्यलाभको कामना गर्दै हजारौं पोष्टहरु भएका थिए ।

नेता प्रदीप गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली !!

Facebook Comments