Sat. Oct 19th, 2024

सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने

सत्ता गठबन्धनका नेताहरूबीच भएको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की । फोटो : एजेन्सी

काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाको अध्यक्षतामा बसेको गठबन्धन बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

चुनावी तालमेल गर्ने निर्णयमा प्रधानमन्त्री देउवा, नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

तालमेलका लागि आगामी दिनमा निरन्तरण छलफल गरी टुङ्गोमा पुग्ने कार्कीले बताउनुभयो । उहाँले सिट बाँडफाँटको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने जानकारी पनि दिनुभयो । कार्कीले निर्वाचन आयोगको परामर्श अनुसार नै सरकारले चुनावको मिति तोकेको बताउनुभयो । निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेतालाई टेलिफोन गर्न खोजेको तर कुराकानी हुन नसकेको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Facebook Comments