Mon. Jun 8th, 2026

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने छ जना पक्राउ

       

काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दीका २९ वर्षीय रोहित मगर, प्यूठान बागदुलाका २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरीका २७ वर्षीय विनोद केसी र बर्दिया राजापुरका २८ वर्षीय शिव सुनार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिनियाँ भाषाका दोभासेसमेत रहेका ओखलढुङ्गाका २६ वर्षीय सूर्यबहादुर राईलाई बोलाएर चिनियाँ नागरिक याङलाई बोलाउन लगाई नयाँ बसपार्कस्थित मित्रनगरको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजमा बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ व्यक्तिले चिनियाँ व्यक्तिसँग रु एक करोड फिरौती मागेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । प्रहरीले पक्राउ परेका व्यक्तिसँग रु आठ लाख १४ हजार ९०० नगद, २६ थान मोबाइल र हतकडी एक थान बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो । नेपाल टेलिभिजन

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read