Sat. Oct 19th, 2024

सगरमाथा कम उमेरमा चढेर गिनिजबुकमा नाम लेखाउनु भएका शम्भु तामाङको निधन

काठमाण्डौं, २०७९ असार २४ गते शुक्रबार । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर गिनिजबुकमा नाम लेखाउनु भएका शम्भु तामाङको निधन भएको छ । तामाङको बिहीबार निधन भएको हो ।

उहाँले सन् १९७३ मे ५ मा सगरमाथा आरोहण गर्नुभएको थियो। त्यस बेला उहाँको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो। तामाङका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

सिन्धुपाल्चोक रिस्याङ्खु मूल घर भइ हाल महाराजगञ्ज काठमाण्डौमा बसोबास गर्दै आउनु भएका तामाङको नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा उपचार भइरहेको थियो ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले तामाङको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको थियो । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने पनि बताउनु भएको थियो ।

तामाङ लिसंखु सेवा समाजका वर्तमान अध्यक्ष तथा छ्योइफेल कुन्देलिङ गोन्पाको सल्लाहकार र तीलगंगा आँखा अस्पतालका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो।

Facebook Comments