Sat. Oct 19th, 2024

पूर्वी युक्रेनमा लडाइँ चर्कँदा राजधानी किएभमा कैयौँ विस्फोटन

काठमाण्डौं, २०७९ जेठ २३ गते सोमबार । युक्रेनी राजधानी किएभमा हप्तौँपछि रुसले पहिलो पटक आक्रमण गर्दा विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन्।

आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए।

कम्तीमा एक जना व्यक्ति घाइते भएका खबर आएको छ। रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा हालैका महिनाहरूमा किएभमा आक्रामक गतिविधिहरू रोकिएका थिए।

अहिले सबैभन्दा भीषण लडाइँ सेभरोडोनेट्स्क सहरमा भइरहेको छ। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले त्यहाँको अवस्था “ज्यादै कठिन” रहेको भन्दै गल्लीगल्लीमा लडाइँ भइरहेको बताउनु भएको छ ।

उक्त सहरलाई नियन्त्रणमा लिनसकेमा लुहान्स्क क्षेत्र रुसी फौज र उसका स्थानीय पृथकतावादी साझेदारहरूको नियन्त्रणमा पुग्नेछ। ती समूहले नजिकैको डोनेट्स्क क्षेत्रका लगभग अधिकांश क्षेत्र नियन्त्रणमा लिइसकेका छन्।

पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर “हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र आक्रमणहरू”  गरिएका भए पनि युक्रेनी फौजले डटेर सामना गरिरहेको राष्ट्रपति जेलेन्स्कीले बताउनु भयो । बीबीसी

Facebook Comments