Fri. Oct 18th, 2024

निर्वाचनको चटारो- ४६ वटा जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ

काठमाण्डौं, २०७९ बैशाख ५ गते सोमबार । स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार समेत गरेको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटर हेड र छापमा एकरूपता कायम गर्न आयोगले ७७ वटै मुख्य  निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटर हेड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाइसकेको जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तुल्याउन निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पुर्‍याउने हेतुले वैशाख ३ गते मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, लुम्बिनी प्रदेशको बुटवल र सुदूरपश्चिम प्रदेशको धनगढीमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ ।

यसैबीच, आयोगले राष्ट्रिय सञ्चार माध्यमका निर्वाचनसम्बन्धी विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि २०७९।१।६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने समेत जनाएको छ । रेडियो नेपाल

Facebook Comments