Fri. Oct 18th, 2024

प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाण्डौं, २०७८ चैत २० गते आईतबार । प्रधानमन्त्री शेर बहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पुरा गरी आज साँझ काठमाण्डौ फर्कनुभएको छ । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गर्नुभएको छ ।

गएको शुक्रवार भारत जानुभएका प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

भारत भ्रमणका क्रममा नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता भएको छ । देउवाले सीमा विवादको कुरा पनि मोदीसँग उठाउनुभएको छ । यस विषयमा मोदीले प्रतिक्रिया नदिए पनि भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ । देउवा र मोदीले जनकपुर-जयनगर रेल र सोलु कोरिडोर विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गर्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज धार्मिक नगरी वाराणसी पुगेर पूजाआजा गर्नुभएको छ । बिहान वाराणसी पुग्नुभएका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो । त्यसपछि देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले वाराणसीकै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालबाट तीर्थयात्रामा पुग्नेहरूका लागि ३५ कोठे वृद्धाश्रम निर्माण गर्न लागिएको हो । नेपाली शैलीको हुने भवनको पुरातत्त्व विभागले नक्साङ्कनको काम गरिरहेको छ ।

Facebook Comments