चीनमा आज धुमधामका साथ लालटिन उत्सव मनाईदै
काठमाण्डौं, २०७८ फागुन ३ गते मंगलबार । चिनियाँ जनता आज धुमधामका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरि लालटिन उत्सव मनाईरहेका छन् । चिनियाँ जनताको सबैभन्दा ठूलो चाड बसन्त चाडको अन्ततिर पर्ने लालटिन उत्सव (चाड) पहिलो चन्द्र महिनाको पन्धौं दिन, अर्थात वसन्त उत्सव पछिको रातको पहिलो पूर्ण चन्द्रको दिन पर्दछ ।
परम्परागत रुपमा यो उत्सवमा मानिसहरु युआनस्याओ नामक गुलियो खाद्य पदार्थ(रसवरी वा यमोरी जस्तै परिकार) खान्छन् । चामलको पिठोको गुलियो डल्लो खाद्य पदार्थले पुर्नमिलनको संकेत गर्दछ भन्ने मान्यता चीनमा हजारौं वर्षदेखि रहँदै आएको छ ।
यो उत्सवको समयमा मानिसहरुले अनेकौं रङका लालटिनहरु घर, सडक र चोकहरुमा रातभरी बाल्ने गर्दछन् । त्यसैले यस चाडको नाम लालटिन उत्सव रहेको हो । यो चाडलाई नेपालीहरुले मनाउने तिहार चाडसँग पनि तुलना गर्न सकिन्छ । तिहारको लक्ष्मीपूजाको दिन घर, सडक र चोकहरुमा दीपावली गरि जसरी हामी भव्य रुपमा तिहार मनाउँछौं त्यसरी नै चिनियाँ जनता पनि लालटिन उत्सव मनाउने गर्दछन् ।
यस उत्सवमा परिवारका सदस्यहरु एकै ठाउँ भेला भएर आपसमा खुशीयाली र शुभकामना आदानप्रदान गर्दै युआनस्याओ, थाङयुआन लगायतका मिठामिठा परिकारहरु खाने, भोजभतेरको आयोजना गर्ने र विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै मनाउँछन् । विजुली वत्तिको आविस्कार नभएको तत्कालिन समयमा यो पर्वमा परम्परागत राता रङका वत्तिहरु बाल्ने चलन थियो । रातो वत्ति बाल्दा मानिसहरुमा सौभाग्य बढ्ने चिनियाँ जनताको विश्वास रहँदै आएको छ । विजुली वत्तिको आविस्कार भएपछि यस चाडमा विभिन्न रङका विजुलीका वत्तिहरु पुरानै शैलिमा सजाएर बाल्ने गरिन्छ ।