Fri. Oct 18th, 2024

भोजपुरको आमचोक गाउँपालिका छुवाछुत मुक्त घोषणा

काठमाण्डौं, २०७८ फागुन १ गते आईतबार । भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिकालाई आजदेखि छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा सो गाउँपालिकालाई छुवाछुत मुक्त भनि घोषणा गरिएको हो । सो गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, शिक्षक, विद्यार्थी, राजनीतिकर्मि, समाजसेवी साथै स्थानीयवासीन्दाहरुले मन्त्री प्रभाकर र संघीय सांसद सुदन किराँतीको उपस्थितीमा गाउँपालिकालाई छुवाछुत मुक्त बनाउने प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गर्दै अब उप्रान्त छुवाछुत नगर्ने प्रतिवद्धताका व्यक्त गर्नुभएको हो ।

सो समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी अर्थमन्त्री प्रभाकरले आमचोकको विकासको लागि भोजपुर र उदयपुरको सीमाना रहेको दुधकोशी (पञ्चकोशी) नदीको रानीटारमा पक्कि पुल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले पाङचा- नागी-चखेवा कालो पत्रे सडक निर्माण, आमचोकमा केन्द्रीय विद्युत प्रसारण लाईन विस्तार लगायतका विषयलाई आफुले चासोका साथ हेरेको पनि बताउनु भयो ।

समारोहमा मागपत्र प्रस्तुत गर्नुहुँदै सो गाउँपालिकाका अध्यक्ष अशोक राईले गाउँपालिकाका जनताले भोग्नु परेका समस्या र तिनको समाधानको लागि सरकारको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले गाउँपालिकालाई छुवाछुत मुक्त गर्ने कार्यक्रममा उपस्थित हुनुभएका विशिष्ट महानुभावहरुले सो कार्यक्रमलाई ऐतिहासिक बनाएको बताउनु हुँदै आमचोकको विकास र परिवर्तनको लागि यो कार्यक्रमको महत्वपूर्ण अर्थ रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

समारोहमा प्रमुख जिल्ला अधिकारी बासुदेब कोइराला, DSP राजकुमार राई, शसस्त्र प्रहरी बलका DSP दिपक बराल लगायतको उपस्थिती रहेको थियो ।

(भोजपुरबाट पत्रकार आरके बान्तवा र लक्ष्मण हायुको सहयोगमा)

Facebook Comments