Sat. Oct 19th, 2024

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको विषयमा छलफल

काठमाण्डौं, २०७८ फागुन १ गते आईतबार । सत्तारुढ दल नेपाली काँग्रेसको आइतबार जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ताको विषय प्रवेश भएको छ ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिनुहुँदै लामो समय संसद अवरुद्ध भइरहेको र न्याय सम्पादनको काम र नागरिकले न्याय पाउने कुरा पनि अवरुद्ध हुदै विषयमा छलफल भएको बताउनुभयो । यी सबै खाले अवरुद्धको प्रक्रियालाई छलफल र संवादमार्फत न्याय सम्पादनको बाटो खुल्नुपर्ने उहाँले बताउनुभयो ।

‘महाअभियोगको प्रस्ताव विशेष कारणवश आएको छ । यसको जानकारी पनि पार्टीमा आएको छ । न्याय सम्पादन संविधान र कानुन बमोजिम अगाडि बढोस् भन्ने समग्र चाहना छ ।’, महतले भन्नुभयो । यी लगायत पार्टीका अरु विषयमा पर्सि मंगलबार दिउँसो ३ बजे पुनः बैठकमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयो ।

यससँगै अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भने संसदबाट पास गर्न पार्टी पूर्णरुपमा लाग्ने उहाँले पुनः दोहोर्याउनु भएको छ । ‘एमसीसीबारे जुन भ्रम पैदा गर्ने कोसिस भएको छ । यो भ्रम चिर्ने अभियानमा पार्टी पूर्णरुपमा लाग्छ ।’, उहाँले बताउनुभएको छ । काँग्रेस बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो । गोरखापत्र अनलाईन

Facebook Comments