Fri. Oct 18th, 2024

बाक्लो हिमपातले हुम्ला विमानस्थलमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

काठमाण्डौं, २०७८ माघ २२ गते शनिबार । हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार हिमपात हुनु र शनिबार मौसममा सुधार आएको भएपनि विमानस्थलमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले दुई तीन दिन लगातार हवाई सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले २८ घण्टासम्म हिमपात भएको र शनिबार मौसममा सुधार आएर घाम लागेको भएपनि विमानस्थलमा दुई फिट हिउँ जमेको कारण विमानस्थल सेताम्मे भएकोले पूर्णरुपमा हवाई सेवा अवरुद्ध भएको बताउनुभयो ।

उहाँले कार्यालयसँग भएको स्नोलक भईकलले एक फिट हिउँ मात्र फाल्न सक्ने तर विमानस्थलमा दुई फिट हिउँ जमेको कारण हिउँ पन्छाउन समस्या भइरहेको बताउनुभयो । यद्यपि, हिउँ फाल्ने प्रयास भने गरिने भएको छ । बिहीबार, शुक्रबार र शनिबार नेपालगञ्ज र सुर्खेतबाट बिहानैबाट उडान भर्ने तयारी गरेको भएपनि हुम्लामा हिमपातको कारण उडान अवरुद्ध भएको हो । हवाई सेवा अवरुद्ध भएपनि जिल्ला बाहिरबाट आउने र जाने डेढ सय यात्रु समस्यामा पर्नुका साथै खाद्यन्न र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन ।

सिमकोट विमानस्थलमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सका विमानहरुले दैनिक १५ वटा भन्दा धेरै बढी उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध भएसँगै हुम्लामा दैनिक उपाभोग्य सामाग्री, खाद्यन्न र तरकारीको समस्या हुन थालेको छ । यसवर्षको यो हिमपातको कारण तेस्रो पटक हवाई सेवा अवरुद्ध भएको हो । गोरखापत्र अनलाईन

Facebook Comments