आज सहिद दिवस, प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा जीवन अर्पण गर्ने सहिदप्रति सम्मान र सम्झना गरिदै
काठमाण्डौं, २०७८ माघ १६ गते आईतबार । आज सहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति गर्ने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सहिदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले सहिदको बलिदानबाटै नागरिकको शासन स्थापित भएको भन्दै देशमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सहिद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाईन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको छ ।
एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।