Fri. Oct 18th, 2024

हेइटीका प्रधानमन्त्रीको हत्या प्रयास असफल

काठमाण्डौं, २०७८ पुस २० गते मंगलबार । शनिवार देशको स्वतन्त्रता दिवस समारोहका क्रममा बन्दुकधारीहरूले हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई मार्ने प्रयास गरेको अधिकारीहरूले जनाएका छन्।

उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उहाँ सहभागी भइरहेका बेला उक्त घटना भएको बताइएको छ। अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उहाँको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।

गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हेइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ। आङ्ग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गर्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।

सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको अनि दुई जना घाइते भएको बताइएको छ।

पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो। उहाँ मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बन्नु भएको थियो ।

त्यहाँ नयाँ राष्ट्रपति चयनका लागि मिति सार्वजनिक गरिएको छैन।

हत्या गरिएका राष्ट्रपति मोइजलाई पोर्ट९अ९प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताइएको थियो। घटनामा प्रथम महिला पनि घाइते हुनुभएको थियो ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हाल्नु भएको थियो । बीबीसी

Facebook Comments