Sat. Oct 19th, 2024

व्यापक जनविरोधपछि सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकद्वारा राजीनामा घोषणा

काठमाण्डौं, २०७८ पुस १९ गते सोमबार । व्यापक जनविरोधपछि सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले राजीनामा घोषणा गर्नुभएको छ । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्कनु भएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।

गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उहाँकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी एउटा सम्झौता पश्चात् पदमा उहाँको पुनर्बहाली गरिएको थियो।

प्रदर्शनकारीहरूले भने उक्त सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन्। लगातार दोस्रो दिन प्रदर्शन भएपछि उहाँले पदबाट राजीनामा गर्नुभएको हो । चिकित्सकहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ।

टेलिभिजन सम्बोधनका क्रममा हमदुकले सुडान “खतरनाक मोडमा छ जसले यसको सम्पूर्ण अस्तित्वलाई खतरामा पारेको छ” भन्नुभएको छ । उहाँले आफूले देशलाई “विपद्तर्फ उन्मुख हुनबाट” जोगाउन सक्दो प्रयास गरेको तर “सहमतिमा पुग्नका लागि सबै कार्य गरे पनि त्यसो हुन नसकेको” बताउनु भयो। बीबीसी

Facebook Comments