प्रचण्डद्वारा महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ
काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिनुभएको छ ।
बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले राजनीतिक प्रतिवेदन आफ्नो व्यक्तिगत नभएको बताउनुभयो । ‘मैले प्रस्तुत गरेको प्रतिवेदन साझा प्रतिवेदन भयो । पूरै परिवर्तन गर्नुपर्ने मैले देखेको छैन,’ उहाँको भनाइ थियो, ‘तर सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ ।’
गोपनीयता कायम गर्न आफूले प्रतिवेदन वितरण नगरेको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले पार्टीलाई उचाइ दिन आफू जुनसुकै पहल र प्रयत्न गर्ने पनि बताउनुभयो । ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न,’ उहाँको भनाइ थियो ।
अध्यक्ष प्रचण्डको जवाफअघि स्थायी कमिटी बैठक बसेको थियो । बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।