नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता
काठमाण्डौं, २०७८ पुस १२ गते सोमबार । नेपाली काँग्रेसले महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानको धारा २६१ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा सङ्घीय कानुन बमोजिम काँग्रेसले शनिबार आयोगमा दल दर्ता गराएको जानकारी दिनुभयो ।
आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा काँग्रेसले आयोगमा दल दर्ता गराएको हो । संविधानको धारा २७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि आयोगमा दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।
प्रवक्ता पौडेलका अनुसार शनिबार दिउँसो १४ औँ महाधिवेशनबाट निर्वाचित सङ्घीय, प्रदेश (समावेशी) कार्यसमितिको नयाँ सूची काँग्रेसले आयोगमा बुझाएको छ ।
दल दर्ता भएसँगै पार्टीको संशोधित विधान र वार्षिक लेखापरीक्षणको प्रतिवेदन पनि काँग्रेसले आयोगमा बुझाएको छ । आयोगमा दल दर्ता भएसँगै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने भएको छ ।