Sat. Nov 16th, 2024

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दल आयोगमा दर्ता

काठमाण्डौं, २०७८ पुस १० गते शनिबार ।  अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले दल दर्ता गराएको आयोगका सह-प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

यसैगरी हिजो नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी(जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले दल दर्ता गराएको सह-प्रवक्ता धमलाले बताउनुभयो ।

१२ राजनीतिक दलमध्ये ९ राजनीतिक दलले ७ वटै प्रदेशमा, २ राजनीतिक दलले प्रदेश २ मा र एउटा राजनीतिक दलले प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा निर्वाचनमा भाग लिने छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि आजसम्मका लागि तोकिएको थियो । यही पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।  राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली काँग्रेसका तीन सदस्य छन् ।

निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ जार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ । रेडियो नेपाल

Facebook Comments