नेपाली कांग्रेसको महाधिवेशन : ३५ सय मतगणना हुँदा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको अग्रता
काठमाण्डौं, २०७८ मंसिर २९ गते बुधबार । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिनुभएको छ । प्रारम्भिक मत परिणाम अनुसार खड्का र गुरुङले अग्रता लिनुभएको निर्वाचन समिति सदस्य केशव रिजालले जानकारी दिनुभयो ।
३५ सय ५८ मत गणना हुँदा खड्काले १६ सय ३४ मत प्राप्त गर्दा गुरुङले १४ सय ३७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी विजयकुमार गच्छदारले १४ सय ४३ मत प्राप्त गर्नुभएको छ भने चन्द्र भण्डारीले १२ सय ५५ मत ल्याउनुभएको छ ।
यस्तै सुजाता कोइरालाले ४३८,महेश आचार्यले ४१३ र दीव्येश्वरी शाहले ११७ मत ल्याउनुभएको छ ।
पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।
सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ । कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा गच्छदार, खड्का, गुरुङ, सुजाता कोइराला, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको छ । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनुहुनेछ । गोरखापत्र अनलाईन