Sat. Oct 19th, 2024

शेर बहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार ।  शेर बहादुर देउवा नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित हुनुभएको छ । काठमाडौंंमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि हिजो मंगलबार भएको दोश्रो चरणको निर्वाचनमा २ हजार ७ सय ३३ मत प्राप्त गर्दै प्रधानमन्त्री समेत रहनु भएका देउवा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २ हजार ३ सय ११ मत चाहिन्थ्यो । देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार ८ सय ५५मत प्राप्त गर्नुभयो ।

कोइरालालाई ९ सय ७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित हुनुभएको हो । ३५ मत भने बदर भएको छ ।

यसअघि अस्ति सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँचजना उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याउनु भएको थियो । तर बहुमत पुगेन ।

कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २ हजार ३ सय ४० मत चाहिन्थ्यो ।

देउवाले २ हजार २ सय ५८ पाएका प्राप्त गर्नुभएको थियो भने शेखरले १ हजार ७ सय २ प्राप्त गर्नुभएको थियो। त्यसैगरी प्रकाशमान सिंह श्रेष्ठले ३ सय ७१ मत, विमलेन्द्र निधिले २ सय ५० मत र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

सभापति देउवालाई सफल कार्यकालका लागि भ्वाईस अफ काठमाण्डौं परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

Facebook Comments