Sat. Oct 19th, 2024

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आज १ सय ३२ पदका लागि मतदान गरिदैं

काठमाण्डौं, २०७८ मंसिर २७ गते सोमबार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न आज बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुरु गर्ने योजना रहेको छ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख गरिएको छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

आज हुने निर्वाचनमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमै आफू विजयी हुने दाबी गर्दै आउनुभएको छ । सभापति पदमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा। शेखरप्रसाद कोइराला र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । कुल १ सय ३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैले आज १ सय ३२ पदका लागि मतदान हुँदैछ ।

Facebook Comments