Tue. Jul 28th, 2026

शक्तिको निश्चित अवधि हुन्छ तर सत्यको हुँदैन : प्रम

       

काठमाडौं, २०७६ पुष १६ गते बुधबार ।

प्रधानमन्त्री केपी शर्मा ओली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेपाल स्काउटद्वारा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुनुभयो । बालबालिकाका यस्तै जिज्ञासा मेट्न बुधबार प्रधानमन्त्री ओलीले झण्डै दुई घण्टा बिताउनुभयाे । बालबालिका र प्रधानमन्त्रीबीच केही रमाइला र केही गम्भीर खालका सवाल–जवाफ भए ।

गोरखापत्र अनलाईनका अनुसार धेरै बालबालिकाको मनकै प्रश्न युवा स्काउट विनम्र श्रेष्ठले सोध्नुभयो, ‘‘प्रधानमन्त्रीज्यू बाल्यकालमा तपाईँको लक्ष्य के थियो ? देशको प्रधानमन्त्री बन्छु भन्ने कल्पना गर्नुभएको थियो ?’’ विनम्रको यो प्रश्नले प्रधानमन्त्रीलाई ६८ वर्षअघि आफू जन्मेको गाउँले परिवेशको स्मृतिमा पु¥यायो । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कुनै राजमार्ग थिएन, विकास थिएन, राणाशासन भर्खरै ढलेको थियो, त्यस्तो समयमा दुर्गम पहाडी गाउँमा जन्मेको साधारण किसानको छोराले प्रधानमन्त्री बन्ने सपना देख्नु सम्भव थिएन ।’’

उहाँका लागि त्यतिबेला सबैभन्दा जान्ने आफ्नै विद्यालयका मास्टर हो जस्तो लागेको रहेछ । त्यसैले ठूलो भएपछि मास्टर चाहिँ गरुँला भन्ने सपना देख्नु भएको रहेछ । पछि समाजमा बेठीक कुराहरू देखेपछि तिनलाई ठीक बनाउन आवाज उठाउनुपर्दाे रहेछ भन्ने बुभ्mदै जानुभयो र युवा अवस्थामा राजनीतिमा लाग्नुभयो ।
राजनीतिमा अगाडि बढ्दै गर्दा पनि कहिल्यै आफूले कुनै दिन प्रधानमन्त्री बन्छु भन्ने नसोचेको उहाँले बताउनुभयो । ‘‘निरंकुशताविरुद्ध लड्दा बरु मर्नु परे मर्छु, लोकतन्त्र ल्याउँछु भन्ने सोचिन्थ्यो । मेरा सपना वैयक्तिक थिएनन्,’’ विद्यार्थीको प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘व्यवस्था परिवर्तन भएपछि पनि सुशासन, विकासका लागि सोचेँ । कोही भोका नाङ्गा नहुने अवस्थामा देशलाई पु¥याउनेबारे मेरो ध्यान थियो ।’’

आफ्नो प्रधानमन्त्री पदलाई देश बनाउने मौकाको रुपमा उहाँले अथ्र्याउनुभयो । यो मौकामा विकृति, भ्रष्टाचार, पछौटेपनबाट देशलाई मुक्त गर्दै सभ्य र सुखी व्यवस्था ल्याउन लागिपरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको बाल्यकालको साधारण लक्ष्य र हालको राजनीतिक सफलताको कुरा सुनेर बालबालिका उत्साहित भए । के साधारण युवा र बालबालिकाले भविष्यमा देशको प्रधानमन्त्री बन्छु भन्ने लक्ष्य लिन सक्छ ? प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘‘म युवा हुँदा नेपाली जनता सार्वभौमसत्ता सम्पन्न थिएनन् । आज जनता सार्वभौम सत्ता सम्पन्न छन् । आजको युवाले म प्रधानमन्त्री बन्छु भनेर सोच्न सक्छ ।’’ प्रधानमन्त्रीले बालबालिकालाई उत्साहित बनाउनुभयो ।

प्रधानमन्त्री बन्न चाहने युवालाई के सुझाव दिनुहुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले जुनसुकै क्षेत्रमा सफल हुन इमानदार प्रयासको जरुरत पर्ने बताउनुभयो । ठूलाठूला काम युवाले मात्र गर्न सक्छन् भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘अलेक्जेन्डर जम्मा ३१ वर्ष बाँचे तर दुनियाँ हल्लाएर गए । मोतिराम भट्ट ३१ वर्ष बाँचे तर महान् कृतिहरू छोडेर गए ।’’ कार्ल माक्र्स र फ्रेडरिक एँगेल्सले पनि तीस वर्ष नपुग्दै ‘कम्युनिष्ट घोषणापत्र’ लेखेर आजसम्म पनि संसारलाई सिद्धान्तको बाटो देखाएको प्रेरणादायक कुरा बालबालिकालाई प्रधानमन्त्रीले सुनाउनुभयो ।

‘‘बाल्यकालमा तपाईँको स्वभाव कस्तो थियो ?’’ भन्ने कृषकुमार यादवको प्रश्नमा प्रधानमन्त्रीले आफू औसत क्षमता र स्वभावको बालक रहेको बताउनुभयो । पढ्नभन्दा बढी खेल्न मन लाग्ने भएका कारण कहिलेकाहीँ पढाइ बिग्रिन्छ कि भन्ने डर पनि लाग्ने गरेको स्मरण गर्नुभयो । साथै झुट बोल्न नसक्ने बानीका कारण साथीभाइमाझ आलोचित हुनुपरेको सम्झना पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

बाल्यकालमा प्रधानमन्त्रीले आफूले खाना बनाउने, भाँडाकुँडा र कपडा धुने, घर सफा गर्ने, घाँस काटेर गाईबाख्रालाई खुवाउने, गोठ सफा गर्ने सबै काम गरेको सुनेर धेरै बालबालिका छक्क परे । आफूलाई कुनै कामलाई ठूलो र कुनैलाई सानो भनिँदो रहेछ भन्ने कुरा पनि ठूलो भएपछि मात्र थाहा भएको प्रधानमन्त्रीले सुनाउनुभयो । सानै उमेरमा आमा बित्नुभएको र हजुरआमासँग हुर्के बढेका कारण जीवनमा सबैभन्दा बढी प्रेरक व्यक्ति प्रधानमन्त्री ओलीले हजुरआमालाई मान्नुहुँदो रहेछ । ‘‘शक्तिको निश्चित अवधि हुन्छ तर सत्यको हुँदैन । त्यसैले शक्तिसँग नझुक्नु र सत्यसँग नडग्नु भन्ने कुरा हजुरआमाबाटै सिकेको हुँ ।’’ उहाँले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read