एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी
काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । चितवनको सौराहामा चलिरहेको नेकपा एमालेको दशौं औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे सुरु गर्ने भनिएको मतदान आज बिहान ४ बजेपछि मात्र सुरु भएको हो । सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र डा. भीमबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको उम्मेदवारी परेको छ ।
त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेट र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।
अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचन भए पनि केही पद भने सर्वसम्मत भएको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको हो । एमालेको विधानमा व्यवस्था भएको सिट संख्या बराबर मात्र उम्मेदवारी परेपछि केही पद सर्वसम्मत भएका हुन् ।