Sat. Oct 19th, 2024

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

भरतपुर, २०७८ मंसिर ९ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले महाधिवेशनको ९५ प्रतिशत तयारी पुरा भएको र केही घण्टा भित्रै बाँकि तयारी सम्पन्न हुने जानकारी दिनुभयो । महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली भरतपुर आईपुग्नु भएको छ भने अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरु भरतपुर आउनेक्रम जारी छ ।

महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारामा भव्य स्टेज निर्माण गरिएको छ भने नगरका विभिन्न स्थानबाट उद्घाटन समारोह हेर्नका लागि ठूला ठूला मोनिटरहरु जडान गरिएको छ । महाधिवेशस्थल वरपर आज विहानैदेखि मानिसहरुको चहलपहल बढेको छ । नगरका विभिन्न भाग र महाधिवेशनस्थल वरपर दर्जनौं स्वागतद्वारहरु निर्माण गरिएकाछन् । भरतपुरका मुख्य सडकहरु एमालेको झण्डा र चुनाव चिन्हले सजिसजाउ पारिएको छ ।

मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको बन्द सत्र भने सौराहामा आयोजना हुनेछ । महाधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधिहरु पुग्ने क्रम जारी रहेको छ । महाधिवेशनमा २३ सय जना प्रतिनिधि सहभागी हुनेछन् । यसअघि गत कात्तिक २७ गते देशभरबाट १९ सय ९९ जना प्रतिनिधि निर्वाचित भएका थिए । महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने छ ।

प्रतिनिधिका लागि सौराहाका होटलहरु बुक गरेको नेकपा एमालेले ३ हजार ५ सय वटा कोठाका लागि यसअघिनै सम्झौता गरिसकेको छ । स्थायी होटल व्यवसायीहरु यस महाधिवेशनले कोरोनाले थला परेको चितवनको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् ।

Facebook Comments