Sat. Oct 19th, 2024

अमेरिकाको ‘डेमोक्रेसी समिट’मा नेपालसहित १ सय १० मुलुकलाई निम्तो, चीनलाई भने निम्तो गएन

काठमाण्डौ, २०७८ मंसिर ८ गते बुधबार । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी डिसेम्बर ९-१० तारिखमा भर्चुअल माध्यमबाट हुने डेमोक्रेसी समिटमा १ सय १० देशलाई सहभागिताका लागि निम्तो दिनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालय ह्वाइटहाउका अनुसार डिसेम्बर ९-१० मा हुने भर्चुअल समिटमा १ सय १० देशलाई निम्तो दिइएको छ । सो समिटमा नेपाललाई पनि सहभागिताका लागि निम्तो आएको छ ।

मंसिर पहिलो साता नेपालको भम्रणमा आउनुभएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटका क्रममा समिटमा सहभागिताका लागि निम्तो दिनुभएको थियो।

प्रधानमन्त्री देउवाले अमेरिकाको निम्तो स्वीकार्दै आफू समिटमा सहभागी हुने जानकारी दिइसक्नुभएको छ ।

अमेरिकाले दक्षिण एसियाली क्षेत्रबाट उक्त समिटका लागि नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निम्तो दिइएकोमा चीन, रूस, टर्कीलगायत मुलुकका नेताहरूलाई भने निम्तो नै दिएको छैन । चीनले आफ्नो अभिन्न अंग भन्दै आएको ताइवानका नेतासमिटमा सहभागी हुने भएपनि त्यसका लागि चीनलाई भने निमन्त्रण नदिइएको जनाएको छ ।

गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएका बाइडेनले यो समिटलाई निकै महत्वका साथ प्रस्तुत गर्नुभएको र डोनाल्ड ट्रम्पका पालामा अमेरिकाले प्रजातान्त्रिक प्रणालीका लागि विश्वलाई नेतृत्व दिन नसकेका अवस्थालाई हेर्दै बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन यो समिट आयोजना गर्नुभएको बताइएको छ ।

प्रजातन्त्रको सुदृढिकरण, तानाशाहको प्रतिरोध, भ्रष्टाचारविरूद्ध लडाइँ र मानवअधिकार सम्मानको प्रवर्द्धन गर्ने समिटको उद्देश्य छ। एजेन्सी

Facebook Comments