Sat. Oct 19th, 2024

डा.डिला सङ्ग्रौलाको पुस्तक ‘काँग्रेसको अबको बाटो’ विमोचन

काठमाण्डौ, २०७८ मंसिर ८ गते बुधबार । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताउनुभयो ।

“पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तक काँग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,” उहाँले भन्नुभयो । सभापति देउवाले डा.सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पुस्तकका लेखिका डा.सङ्ग्रौलाले १४औँ महाधिवेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताउनुभयो । “पार्टी रूपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु,” उहाँले भन्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले काँग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस बलियो बने मुलुकको विकास हुने उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताउनुभयो । “पुस्तकमा बिपीको चिन्तनअनुसार काँग्रेसको धरातल प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो, “कांग्रेस जान्न र बुझ्न खोज्नेहरूका लागि पुस्तक उपयोगी हुनेछ ।”

पुस्तकमा नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरू, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४औँ महाधिवेशनका एजेन्डाहरू प्रस्तुत गरिएको छ । रासस 

Facebook Comments