चिनियाँ जनता र नेपाली जनताको सपना उस्तै हो: राजदूत हौं यान्छी
काठमाण्डौ, २०७८ मंसिर ७ गते मंगलबार । नेपालका लागि चिनियाँ राजदूत हौं यान्छीले चिनियाँ जनता र नेपाली जनताको सपना उस्तै भएको बताउनु भएको छ । मेरो वरपर चीनको कथा विषयक भिडियो प्रतियोगिताका विजेताहरुसँग आज भिडियोमार्फत अन्तरक्रिया गर्नुहुँदै राजदूत हौं यान्छीले सो विचार व्यक्त गर्नुभएको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाले चीन र नेपालबीचको मित्रतालाई अझ प्रगाढ बनाएको प्रसंग उल्लेख गर्दै राजदूत हौं यान्छीले भन्नुभयो, “चीन र नेपालको मित्रताको इतिहास धेरै लामो छ । हाम्रोेबीचमा रहेको सगरमाथा विश्वकै सबैभन्दा अग्लो पहाड हो तर यसले हाम्रो मित्रतालाई छेकेको छैन बरु यो नेपाल र चीनबीचको मित्रताको पुल बनेको छ ।” राजदूत हौं यान्छीले अझ अगाडि भन्नुभयो, चीनका महान भिक्षु स्वान चाङ, फा स्यान, नेपाली विद्धान बुद्धभद्र, राजकुमारी भृकुटी र नेपाली कलाकार अरनिको जस्ता प्रसिद्ध महामानवहरुलाई हेरेर हामी के बुझ्न सक्छौं भने जनस्तरको सम्बन्धबाट चीन र नेपालको पुस्तौं पुस्ताको सम्बन्ध स्थापना भएको हो । संस्कृति र सभ्यताको आदानप्रदान मार्फत दुवै देश अझ समृद्ध बनेका छन् ।”
सन् १९५५ को अगस्त १ तारिखका दिन नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीचको विभिन्न क्षेत्रको आपसी सहयोग र सहकार्य अझ घनिष्ट हुदै आएको राजदूत हौं यान्छीले बताउनु भयो । उहाँले भन्नुभयो, चीन र नेपालको सम्बन्ध अन्य छिमेकी मुलुकहरुका लागि सम्मान, मैत्रीपूर्ण सहकार्य र आपसी हितको नमूना बनेको छ ।
कोरोना महामारी सुरु भएदेखि यता चीन र नेपालले एकअर्कालाई रेखदेख गरी महामारी विरुद्ध लड्ने सहकार्य मार्फत भाइरसको उद्गमस्थल पत्ता लगाउने काममा गरिएको राजनीतिकरणको विरोध गर्दै चीन र नेपालले स्वास्थ्यको साझा भविष्य निर्माण गर्दै आएको पनि राजदूत हौ यान्छीको भनाई छ । महामारीको समयमा चीनलाई उच्च महत्व दिंदै चीनको पक्षमा वकालत गरेकोमा नेपाली साथीहरुलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो । राजदूत हौं यान्छीले भन्नुभयो, “महामारीको समयमा चीनलाई विभिन्न मुलुकहरुले गरेको घेराबन्दी र भाइरसको मुहान पत्ता लगाउने विषयमा गरिएको राजनीतिको नेपाली साथीहरुले विरोध गर्नुभएको छ त्यसको लागि म उहाँहरुको उच्च प्रशंसा गर्दछु ।”
कोरोना महामारी विरुद्ध नेपाललाई सबै भन्दा बढी खोप उपलब्ध गराउने मुलुक चीन बनेको पनि राजदूत हौं यान्छीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले चीन नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने मुलुक बनेको छ । नेपाललाई हामीले अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्रीहरु पनि अनुदान स्वरुप उपलब्ध गराएका छौं । यस्ता सामग्रीहरु मार्फत हामीले नेपालीहरुलाई महामारी विरुद्ध लड्न सहयोग पुर्याएका छौं । बेल्ट एण्ड रोडको सहकार्यलाई पनि राम्ररी अगाडि बढाउँदै लगेका छौं । हिमालवारपार बहुदेशिय कनेक्टिभिटी सञ्जालको निर्माण पनि अगाडि बढिरहेको छ । जसले चीन र नेपाललाई महामारी विरुद्ध लड्न, अर्थतन्त्रको पुर्नवहाली गर्न र जनजीवन सुनिश्चित गर्नका लागि सक्रिय योगदान दिईरहेको छ ।”
केही दिन पहिले सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैठौ पूर्ण बैठकको बारेमा चर्चा गर्नुहुँदै चिनियाँ राजदूत हौं यान्छीले चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका सबै देशका विभिन्न जातिका मानिसहरुलाई एकीकृत गरेर चीनले एउटा दस्तावेज तयार पारेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, “चीनमा अर्थतन्त्रलाई अझ सुदृढ गर्ने काम भएको छ, गरिवी निवारणलाई अन्त्य गर्ने काम पनि भएको छ । चीनले सम्पूर्ण रुपमा समाजवाद र आधुनिकिकरण हुने मुलुकको निर्माणको नयाँ यात्रा पनि सुरु गर्नेछ । हाम्रा नेपाली साथी र नेपाली जनता पनि विकास र समृद्धिको लक्ष्यतर्फ अघि बढ्दैछन् । चिनियाँ जनता र नेपाली जनताको सपना उस्तै हो र हामीबीच भविष्य पनि जोडिएको छ । अब दुई मुलुकका जनता हातमा हात मिलाएर अझ सुन्दर भविष्य निर्माण गर्न सक्छन् ।”
सम्वोधनका क्रममा उहाँले चिनियाँ राजदूतावासले लगातार दुई मुलुकका जनताको सम्पर्क र आदान प्रदानको कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताउनु हुँदै नेपाली सञ्चारमाध्यमलाई थप सहयोग र समर्थन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
आगामी वर्षको फेबु्रअरीमा चीनले हिँउदे ओलम्पिक खेलकूद आयोजना गर्ने जानकारी दिनुहुँदै चिनियाँ राजदूत हौं यान्छीले नेपाली साथीहरुले पनि सो प्रतियोगिता हेर्न र सकेसम्म धेरै प्रचार गर्ने आशा व्यक्त गर्नुभयो । साथै उहाँले पैचिंग हिँउदे ओलम्पिक खेलकूदलाई मानव जातिको एउटा ठूलो चाड जस्तै मानेर भव्य रुपमा सँगसँगै मिलेर सफल बनाउन पनि आग्रह गर्नुभयो ।
“मेरो वरपर चीनको कथा भिडियो प्रतियोगिता”का विजेताहरुलाई धन्यवाद ज्ञापन गर्नुहुँदै राजदूत हौ यान्छीले उहाँहरुको राम्रो पढाई, काम र सुस्वास्थ्यको कामना गर्नुभयो । साथै राजदूत हौं यान्छीले प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा काठमाडौंस्थित रे मिडिया ग्रुप र चाईना मिडिया ग्रुपको नेपाल अफिसलाई हार्दिक धन्यवाद दिनुभयो ।
सो अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै चाईना मिडिया ग्रुपको नेपाली विभागका उपप्रमुख सुमेघाले प्रतियोगितामा निर्माण गरिएका भिडियोहरुले चीन र चिनियाँ जनताप्रतिको नेपाली जनताको माया, सद्भाव र आत्मियता प्रस्ट भएको बताउनु भयो । साथै उहाँले नेपाल विश्वकै सुन्दर देश मध्येको एक भएको र चीनप्रति नेपाली जनताको ठूलो सम्मान पनि रहेको बताउनुभयो । उपप्रमुख सुमेघाले चीनका महान भिक्षु स्वान चाङ, फा स्यान, नेपाली विद्धान बुद्धभद्र, राजकुमारी भृकुटी र नेपाली कलाकार अरनिको जस्ता प्रसिद्ध महामानवहरुले जोडेको चीन र नेपालबीचको सम्बन्धमा ईटाहरु थप्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको पनि बताउनुभयो ।
रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले प्रतियोगितामा उत्कृष्ट भएका भिडियोमार्फत चीनको पछिल्लो चरणको विकास, नेपाल-चीन सम्बन्ध र चीनको सँस्कृतिबारे बुझ्न सहज भएको बताउनुभयो । चीनले पछिल्लो समयमा प्राप्त गरिरहेको विविध क्षेत्रको विकासबारे चर्चा गर्नुहुँदै अध्यक्ष पौडेलले चीनको विकास र समृद्धिले नेपालको विकासलाई पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । महामारीको रुपमा विश्वभरी फैलिएको कोरोनालाई कसैले पनि राजनीतिको विषयवस्तु बनाउन उचित नहुने भन्दै उहाँले विश्वभरीका सबै जनताले मिलेर यसको निर्मूल गर्नुपर्ने बताउनुभयो । सन् २०२२ मा चीनमा आयोजना हुन लागेको पैचिङ ओलम्पिक खेलकूद ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुहुँदै उहाँले उक्त खेलकुद भव्य रुपमा सम्पन्न होस् भनि शुभकामना पनि व्यक्त गर्नुभयो ।
चिनियाँ अन्तराष्ट्रिय रेडियो सीआरआईका पुराना श्रोता तथा युवा साहित्यकार डा. मुरारी पराजुलीले नेपाल र चीन ऐतिहासिक कालदेखिका असल मित्र भएको बताउनुभयो । साथै उहाँले चीनका वरिष्ठ नेता तङ स्याओ फिङ र सी चिनफिङको कुशल नेतृत्वले चीन विश्वकै धनी मुलुक भएको बताउनु हुँदै कोरोना महामारीको नियन्त्रण गर्न चीन सरकारले नेपाललाई उपलब्ध गराएको खोप र अन्य स्वास्थ्य सामग्रीका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा प्रतियोगिताका विजेता पत्रकार शम्भु दंगाल र नविन महर्जनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।