Sat. Oct 19th, 2024

कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालतमा झडप, नेपाल बारका अध्यक्ष चण्डेश्वरसहित १२ जना घाइते

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन गरिरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका १२ जना घाईते हुनुभएको छ ।

प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् । विरोध प्रदर्शनका क्रममा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् भने प्रधानन्यायाधीश तत्काल राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

नेपाल बार एसोसिएशनले गएको कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

Facebook Comments