Sat. Oct 19th, 2024

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शिष्टाचार भेटवार्ता

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षीय हितका विषयसँगै कोभिड-१९ संक्रमण, खोप सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले जानकारी दिनुभयो ।

सो भेटवार्तामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता दोहोर्याउनु भएको छ ।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लु र आजै यहाँ आउनुभएकी उपसहायक विदेशमन्त्री किडरलिङबीच नेपाल-अमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल-अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड-१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनःप्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राससलाई जानकारी दिनुभयो ।
वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने रु ५५ अर्बभन्दा बढीको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी)लगायत संयुक्त राज्य अमेरिकाको सहयोगका बारेमा पनि छलफल भएको थियो । यथाशक्य चाँडो एमसिसीलाई संसद्बाट अनुमोदन गर्न अमेरिकी प्रतिनिधिमण्डलले अनुरोध गरेको थियो । दुवै पक्षले नेपाल-अमेरिका सम्बन्धको समग्र अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् ।

प्रवक्ता लम्सालका अनुसार नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै नेपाललाई कोभिड-१९ विरुद्धको खोप उदारतापूर्वक उपलब्ध गराएकामा त्यसको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

भर्खरै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२६ का साथै नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरका बारेमा पनि अमेरिकी अधिकारीहरूसँग गहन छलफल भएको थियो । सहायक विदेशमन्त्री लुले जलवायु वित्त र प्रविधि हस्तान्तरणमार्फत अनुकूलन र जलवायु परिवर्तनका कारण सृजना हुने विपद् न्यूनीकरणका क्षेत्रमा अमेरिकी सरकारको योजनाबद्ध सहयोगबारे जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक मान्यता र मानवअधिकार, विधिको शासनप्रतिको पूर्ण प्रतिबद्धता दोहोर्याउनु भएको थियो भने सहायक विदेशमन्त्री लुले प्रजातन्त्र सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।

सहायक विदेशमन्त्री लुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आयोजना गर्न लागेको लोकतन्त्रका लागि आगामी शिखर सम्मेलनमा सहभागी हुने सुनिश्चितता गर्नुभएकामा प्रधानमन्त्री देउवाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई राष्ट्रबीचको आपसी सम्बन्ध मित्रतापूर्ण छ भने नेपाल शान्त, समृद्ध, सुदृढ र प्रजातान्त्रिक देशका रूपमा विकासको पथमा अग्रसर होस् भन्ने चाहनाका साथ अमेरिकाले नेपाल सरकारका विकासका प्रयास र प्राथमिकतमा सघाउँदै आएको छ । समावेशी र प्रभावकारी शासनव्यवस्थाको निर्माण, राजनीतिक स्थायित्व र आर्थिक विकास, मानवीय सेवाका क्षेत्रमा परनिर्भरताको न्यूनीकरण, क्षेत्रीय सुरक्षा तथा बृहत् अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान पुर्याउने लगायत पहलहरूमा नेपालसँग वासिङ्टनले सहकार्य गर्दै आएको छ

नेपालमा अमेरिकी सहयोग शान्ति र स्थायित्व, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण, अत्यावश्यक सामाजिक सेवाको सुनिश्चितता, प्रभावकारी स्वास्थ्य सेवाको पर्याप्तता, गरिबी न्यूनीकरण, खाद्य असुरक्षा र मौसम परिवर्तनका चुनौतीहरूको सामना जस्ता क्षेत्रमा पुर्याईएको योगदानलाई थप सुदृढ गर्नेतर्फ केन्द्रित रहेको छ ।

विसं २०७२ को भूकम्पपछि नेपालको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्दै आएको अमेरिकाले आवास, शिक्षा, स्वास्थ्य, कृषि, जोखिममा रहेका समुदायको रक्षा, सांस्कृतिक सम्पदाको संरक्षणलगायत अत्यावश्यक क्षेत्रहरूमा पनि निरन्तर सघाइरहेको छ ।

प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा मुख्यसचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरी, परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्ले तथा यहाँस्थित अमेरिकी दूतावासका उच्च अधिकारीको उपस्थिति थियो । गोरखापत्र अनलाईन  

Facebook Comments