Sat. Oct 19th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनबीच वार्ता

काठमाण्डौं, २०७८ कात्तिक ३० गते मंगलबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनबीच आज विहान भिडियो वार्ता भएको छ । वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले हाल चीन-अमेरिका दुई देशको विकास महत्वपूर्ण चरणमा रहेको भन्दै मानवजातिको पृथ्वी गाउँ सामु अधिकांश चुनौती देखा परेको बताउनु भयो ।

विश्वका दुई अघिल्ला आर्थिक समुदाय र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्यको हैसियतमा चीन र अमेरिकाले आपसी आदान प्रदान र सहकार्यलाई सबल पार्नुका साथै सँगै मिलेर मानवजातिको शान्ति र विकासको महाकार्यलाई अघि बढाउँदै जाने विश्वास पनि सीले व्यक्त गर्नुभयो ।

चीन र अमेरिका दुवैले एकले अर्काको सम्मान गर्नुका साथै शान्तिपूर्वक व्यवहार गरी सहकार्यमार्फत साझा जित हुने लक्ष्यलाई साकार तुल्याउनुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जलवायु परिवर्तन र कोभिड १९ लगायतका समस्या समाधान गर्न दुबै मुलुकबीचको सम्बन्धमा सुमधुर हुनुपर्नेमा समेत दुबै नेताहरुले जोड दिनुभएको छ । करिब ३ घन्टा २४ मिनेटसम्म चलेको वार्तामा आपसी हितका बारेमा समेत छलफल भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयता दुई नेताबीच दुई पटक टेलिफोन वार्ता भएपनि पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो । सीआरआई

Facebook Comments