Sat. Oct 19th, 2024

बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त

काठमाण्डौं, २०७८ कात्तिक ११ गते बिहीबार । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएको छ ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएको छ ।

प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी जसपाको १ जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बागमतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

एमालेका तर्फबाट धादिङ क्षेत्र १ बाट विजयी बन्नुभएका पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसक्नु भएको छ ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार हिजो मार्गप्रशस्त गर्नुभएको थियो । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न हिजो २४ घन्टाको समय सीमा दिएको थियो ।

Facebook Comments