Sat. Oct 19th, 2024

अविरल वर्षा र खराब मौसमको कारण देशका विभिन्न भागबाट हुने हवाई उडान प्रभावित, यात्रुलाई सकस

dav

काठमाण्डौं, २०७८ कात्तिक २ गते मंगलबार ।  अविरल वर्षा र खराब मौसमको कारण देशका विभिन्न भागबाट सञ्चालन हुने हवाई उडान प्रभावित भएका छन् ।

हिँजो सोमबार वेलुकीदेखि परेको अविरल वर्षाको कारण काठमाण्डौंबाट देशका विभिन्न भागमा हुने उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाका अनुसार आधादर्जन भन्दा धेरै उडान रद्द भइसकेको छ भने १५ भन्दा बढी उडान डिले भएको जानकारी दिनुभयो ।

लगातारको वर्षा र खराब मौसमका कारण विराटनगरका लागि निर्धारण गरिएका अधिकांश उडान प्रभावित भएका छन् । सोमबार साँझदेखि परेको पानी अहिलेसम्म पनि निरन्तर परिरहेको र मौसम खुल्न नसक्दा सो समस्या भएको विमानस्थल कार्यालयले बताएको हो ।

आज बिहान ८:३५ वजेदेखि यात्रुहरु विराटनगर विमानस्थलमा पुगेपनि निर्धारित समयमा कुनै पनि उडान हुन सकेन । श्री एयरलायन्स् र यती एयरलायन्सका जहाज मध्यान्ह १२ वजे आसपास विराटनगरमा अवतरण भएका थिए तर ती जहाज पनि लगभग एक घण्टापछि मात्र काठमाण्डौंका लागि उडे ।

विहान ८:४५ वजे नै विराटनगरमा अवतरण हुनु पर्ने सौर्य एयरलायन्स र बुद्ध एयरका जहाजहरु पनि मध्यान्हसम्म विराटनगर नपुग्दा यात्रुहरु हैरान भएका थिए । श्री एयर र यती एयरका जहाज अवतरण भएपछि बुद्ध र सौंर्य एयर कुरेर बसेका यात्रुहरुमा आशाको सञ्चार देखिए पनि ती दुवै एयरलायन्सका जहाज विराटनगरको आकाशबाटै काठमाण्डौं फर्किएपछि यात्रुहरु निरास भएका थिए । विराटनगर विमानस्थल कार्यालयले बुद्ध र सौर्यको उडान स्थगित भएको सूचना दिए लगत्तै अधिकांश यात्रुहरु नयाँ उडानको टिकट कसरी पाउन सकिन्छ भनेर विभिन्न एयरलायन्सका काउण्टरतिर दौडिएको दृश्य पनि देखिन्थ्यो ।

विमानस्थलको तथ्याङक अनुसार विराटनगरका लागि उडेको बुद्ध एयर र सौंर्य एयरको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि काठमाण्डौंनै फर्किएको थियो । काठमाण्डौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाण्डौं आउने सबै उडान डिले भएको छ भने मनाङमा कुनै उडान हुनसकेको छैन । काठमाण्डौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।

काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगढी जाने सौर्य एअरको उडान रद्द भएको छ भने काठमाण्डौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ । देशैभर खराब मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ तर काठमाण्डौंमा भने सामान्य अर्थात पाँच किलोमिटर भिजिवलिटी भएको जनाएको छ । काठमाण्डौं बाहिरका विमानस्थल आसपास मात्र नभएर उडान हुने रुटका कारणले पनि भिएफआर र आइएफआरमा उडान गर्ने दुवै प्रकारका उडान प्रभावित बन्ने गरेको शेर्पाले बताउनुभयो ।

Facebook Comments