Wed. Sep 25th, 2024

जोर्डनका राजाले विदेशमा झन्डै १२ अर्बको घरजग्गा गोप्य रूपमा किनेको खुलासा

काठमाण्डौं, २०७८ असोज १८ गते सोमबार । जोर्डनका राजाले गोप्य रूपमा १० करोड डलर (११ अर्ब ८४ करोड रुपैयाँ) भन्दा बढी खर्च गरेर यूके र अमेरिकामा घरजग्गा जोडेको खुलासा भएको छ।

राजा अब्दुल्लाह बिन अल हुसेनले सन् १९९९ मा सत्ता सम्हालेयता १५ वटा घर खरिद गर्न प्रयोग गरेका गोप्य संस्थाहरूबारे चुहिएका दस्ताबेजले यस्तो खुलासा गरेका हुन्।

राजा अब्दुल्लाहका वकिलले उहाँको व्यक्तिगत सम्पत्ति प्रयोग गरी घरहरू किनिएको भन्दै अफशोर कम्पनीहरू प्रयोग गरी त्यसो गरिनु अनुपयुक्त नरहेको बताएका छन्। जोर्डनले उल्लेख्य रूपमा अमेरिका र यूके सहितका देशबाट अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्छ।

यूके त्यहाँको प्रमुख आर्थिक साझेदार हो। हालै पाँच वर्षका लागि दिइने सहायतालाई दोबर बनाउँदै यूकेले जोर्डनलाई ६५ करोड पाउन्डभन्दा बढी दिने बताएको थियो। राजा अब्दुल्लाहको चिनारी मध्यपूर्वमा पश्चिमाहरूका लागि एक जना मध्यमार्गी साझेदारका रूपमा रहेको छ ।

तर सम्पत्तिप्रति उहाँको रुचि सन् २००३ देखि २०१७ सम्म बढिरहेको देखिन्छ र यो बेला देशभित्र निरङ्कुश शासन चलाइरहेको आरोप उहाँविरुद्ध लागिरहेको छ।

सरकारी खर्च घटाउने र कर वृद्धिका निर्णयसँगै त्यहाँ हालैका वर्षहरूमा प्रदर्शन पनि भइरहेको छ। जोर्डनका अधिकारीहरूले सन् २०२० को जुनमा विदेशमा रकम पठाउने आफ्ना नागरिकहरूलाई कारबाही गरिने बताएका थिए।

सरकारप्रति असन्तुष्ट रहेका एक जनालाई उद्धृत गर्दै राजा अब्दुल्लाहले ‘रिमोट कन्ट्रोल’का सहायताले देश चलाइरहेको उल्लेख गरिएको छ। बीबीसी

Facebook Comments