Wed. Sep 25th, 2024

अमेरिकामा गर्भपतन अधिकार माग गर्दै हजारौँको प्रदर्शन

काठमाण्डौं, २०७८ असोज १७ गते आईतबार । गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन्। टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन्।

गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ।

‘गर्भपतनलाई कानुनी मान्यता’ भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी ‘मार्च पास’ गरेका थिए।

करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले र्‍यालीको सुरुमै अवरोध पुर्‍याउने प्रयास गरेका थिए। त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ।

प्रदर्शनमा सहभागी एक महिलाले नारीको छनौट गर्न पाउने अधिकारका लागि आफू सहभागी भएको बताइन्। “सौभाग्यले मैले यो छनौट गर्नुपर्ने अवस्था सामना गर्नुपरेको छैन। तर यहाँ धेरै यस्ता महिला छन् जसले त्यो अवस्था सामना गर्नुपरेको छ। हाम्रो शरीरको र त्यसको नतिजाको कुरामा हाम्रो सरकार र पुरुषहरूलाई केही भन्ने अधिकार छैन,” रोविन हर्नले रोयटर्स समाचार संस्थासँग भनिन्।

र्‍यालीहरू यसअघि वार्षिक रूपमा वीमन मार्च आयोजना गर्ने समूहहरूले नै गरिरहेको बताइएको छ। “यो देशैभरका मानिसहरूका लागि आयोजना गरिएको हो,” वीमन मार्चकी कार्यकारी निर्देशक राचेल ओलिरि कार्मोनाले भनिन्। बीबीसी

Facebook Comments