Wed. Sep 25th, 2024

प्रचण्डका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुङ्गिएको एमाले अध्यक्ष ओलीको आरोप

- माधव नेपाल "एमाले विभाजन गराउने मुख्य योजनाकार​"

काठमाडौं, २०७८ असोज १५ गते शुक्रबार । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको बताउनुभयो । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको छ । यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

माधव नेपाल “एमाले विभाजन गराउने मुख्य योजनाकार​”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गर्नुभयो ।

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले भन्नुभयो, ‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसङ्घर्षमा साथमा रहनुभएका धेरैजसाे कमरेडले त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्‍याएकाे पनि स्पष्ट पार्नुभयो ।

उहाँले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकासमेत सहयोगी भएको दाबी गर्नुभयो । उहाँले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुनसम्मत ढङ्गले प्रतिवाद गर्ने चेतावनी दिनुभयो । उज्यालो अनलाईन

Facebook Comments