Wed. Sep 25th, 2024

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि शुरु

काठमाडौं, २०७८ असोज १५ गते शुक्रबार । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज देखि शुरु हुँदैछ । पार्टी विभाजन र सत्ता बहिर्गमन जस्ता अत्यन्त ठूला घातहरुसँग जुधिरहेको नेकपा एमालेले पहिलो पटक ठूलो भेला गर्न लागेको हो ।

ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।

भेलामा करिब छ हजार नेता कार्यकर्ता सहभागी हुँदैछन् । आउँदो मङ्सिरको दोस्रो हप्ताका लागि नेतृत्व चयनका लागि पार्टीको दशाैँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ ।

विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधान महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिने एमालेले जनाएको छ ।

एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।

उज्यालो अनलाईनका अनुसार विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेसागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् ।

Facebook Comments