Tue. Sep 24th, 2024

झलनाथ खनाल भन्नुहुन्छ- “कुनै पनि कार्यकारी पदमा बस्दिन”

- नेता झलनाथ खनाल स्वदेश फिर्ता

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै पनि कार्यकारी पदमा नबस्ने बताउनुभएको छ । असार २ गतेदेखि भारतको एपोलो अस्पतालबाट उपचारपछि सोमबार स्वदेश फर्किनुभएका वरिष्ठ नेता खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो ।

‘यो मेरो जीवन नाफाको जीवन हो । बोनसको जीवन हो । मेरो बाँकी जीवन मुलुकका लागि र एउटा मार्क्सवादी, लेनिनवादी निर्माणमा लगाउनेछु । कार्यकारी पदको लागि इच्छा राखेको छैन । पार्टीले के दिन्छ भन्ने कुरा हो,’ उहाँले भन्नुभयो ।

साथै उहाँले आफूलाई आफ्नै भान्जीले मृगौला दान दिएको बताउनुभयो । ‘म करिब दुई महिनाअघि गम्भीर स्वास्थ्य समस्या आएर नर्भिक इन्टरनेशन अस्पतालमा उपचाररत थिएँ । मेरो स्वास्थ्यमा गम्भीर समस्या आयो । मेरो स्वास्थ्यबारेमा मेरो उपचार गराइरहनुभएका चिकित्सकहरु चितिन्त हुनुहुन्थ्यो । त्यही बेलामा मलाई भेट्न पार्टीका युवा नेताहरू आउनुभयो,’ उहाँले भन्नुभयो,‘ मलाई उपचार गर्न विदेश जान सल्लाह दिनुभयो । म पनि विदेश जाने सोचाइमा थिएँ । दिन्ल्ली पुग्न  उपचार गर्न केपी ओली नेतृत्वको सरकारले पनि सहयोग गर्यो । म तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीलाई विशेष धन्यावाद दिन चाहन्छु ।’

साथै उहाँले ओली सरकारपछि पनि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले पनि आफूलाई सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । भारतबाट स्वदेश फर्किनुभएका वरिष्ठ नेता खनाललाई स्वागत गर्नै पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुग्नुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments