Tue. Sep 24th, 2024

नेपाल एयरलाईन्सको दोस्रो ७५७ बोइङको बिक्री

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । नेपाल वायुसेवा निगमको गण्डकी नाम (कलसाइन) भएको बोइङ-७५७ विमान बिक्री भएको छ । निगमले सो बोइङ ७५७ विमान अमेरिकी कम्पनी सीएसडीएसलाई ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गरेको हो ।

करिब ३ वर्ष अगाडिबाट थालिएको बिक्री प्रक्रिया थालिएको भए पनि कोभिड-१९ का कारण रोकिएको थियो । पछिल्लो समय निगमले सो कम्पनीसँग बिक्रीको अन्तिम प्रक्रिया पूरा गर्ने तयारीमा रहेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, “विमानको मर्मत गरेर प्राविधिक परीक्षण पूरा गरी सो कम्पनीले लिएर जाने छ ।” यसको लागि दोस्रो चरणको हस्ताक्षर प्रक्रिया पनि पूरा भएको उहाँले बताउनु भयो ।

उक्त ७५७ बोइङ तात्कालिन शाही नेपाल वायूसेवा निगमले सन् १९८७ मा खरिद गरेको गरेको थियो । पुरानो जहाज भएको भन्दै आइक्यानले ७५७ बोइङ जहाजलाई सन् २०१८ मा उडान बन्द गराएपछि निगमले विक्री गरेको जनाएको छ । नाइन एन एसिबि रजिष्ट्रेसन नम्बर भएको सो विमान ३१ वर्ष अगाडि बनेको कार्गो र यात्रुवाहक हो । विमानको मर्मतसम्भार गर्नको लागि धेरै रकम खर्चिनुपर्ने र विमान पुरानो हुँदै गएकाले सञ्चालन खर्च बढिरहेको पाइएपछि निगमले बिक्री गर्ने निर्णय गरेको थियो ।

निगमले वाइडबडी ए३३०-२ र ए३२० विमान सञ्चालन गरिरहेको छ । बोइङ विमान र वाइडबडीको सञ्चालन व्यवस्थापन गर्न निगमलाई खर्चिलो बन्दै गएपछि निगमले बोइङलाई विस्थापित गर्ने तयारीस्वरुप प्रक्रिया अगाडि बढाएको थियो । अर्को कर्णाली ७५७ विमान भने यसअघि नै बीबी एयरलाइन्सले खरिद गरेको थियो । विमानमा १ सय ९० सिट रहेकोमा १६ बिजनेस क्लासका सिट छन् ।

वाइडबडीले नियमित उडान भर्दै
प्राविधिक रुपमा गडबडी आएपछि मर्मतका लागि मलेसिया पठाइएको वाइडबडी ३३० जहाज मर्मत सम्पन्न गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ । वाइडबडीले अव नियमीत उडान भर्ने तयारी शुरु गरेको निगमका कार्यकारी निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो । जहाज मर्मत सम्भारका लागि मलेसियन कम्पनीलाई छनौट गरेसँगै वाइडबडी मर्मत गर्न त्यसतर्फ लगिएको उहाँले बताउनुभयो । कारोबार अनलाईन

Facebook Comments