Tue. Sep 24th, 2024

अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानस्थित’ आइएस-के समूहका योजनाकार’को मृत्यु

- काबुल विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ।

अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्।

अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ।

काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

रिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।

अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

अमेरिकाले ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ।

शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताउनु भएको थियो ।

इस्लामीक स्टेट खोरसान अर्थात आइएस-के भन्ने समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो।

इस्लामीक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो। बीबीसी

Facebook Comments