Tue. Sep 24th, 2024

प्रभुराम शर्मा नेपाली सेनाको प्रधान सेनापति नियुक्त

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । बलाधिकृत रथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम  व्य. नं. १३५३ बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापति पदमा भदौं २४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको हो ।

नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा प्रधान सेनापति पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । उहाँ नेपाली सेनाको ४४ औं प्रधान सेनापति हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ ।

शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवम् बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिनुभएको छ ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ ।

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डामा रहेका सैनिक सचिव, भर्ना छनाेट निर्देशक, नीति तथा योजना निर्देशक, सह-बलाध्यक्ष एवम् सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमान्ड गर्ने अवसर प्राप्त गर्नुभएका शर्मा भारतमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गर्नुभएको छ ।

Facebook Comments