Tue. Sep 24th, 2024

पानी नपरेपछि चार वर्षदेखि म्याडग्यास्करमा कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता

- जलवायु परिवर्तनको असर

काठमाण्डौं, २०७८ भदौं ९ गते बुधबार । म्याडग्यास्कर “जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी” को सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै “डरलाग्दो” भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्।

यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन्।

“यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो,” राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भन्नुभयो ।

हिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ। खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ।

“यो अभूतपूर्व हो। यी मानिसहरूले जलवायु परिवर्तन गराउन त्यस्तो केही गरेका छैनन्। उनीहरू जीवाश्म इन्धन बाल्दैनन्… तर पनि उनीहरूले जलवायु परिपवर्तनको आघात खप्नुपरेको छ,” ठकरालले भन्नुभयो ।

भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए।

“म यी कीरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन,” चार सन्तान भएकी एक महिला टामारियाले भन्नुभयो ।

“मेरा बच्चा र मैले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छौँ किनभने खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौँ,” उहाँले भन्नुभयो ।

“आज हामीसँग सिउँडीको पातबाहेक अरू खानेकुरा केही छैन,” सुक्खा माटोमाथि बसेकी अर्की महिला बोलले भन्नुभयो । उहाँका तीन सन्तान छन्।

उहाँका अनुसार भोककै कारण उहाँका पति केही समयअघि वित्नु भयो । छिमेकीको पनि भोककै कारण मृत्यु भएकाले तिनका दुई बालबच्चालाई खुवाउने जिम्मा पनि आफूलाई आइपरेको उहाँले बताउनु भयो । बीबीसी

Facebook Comments