Tue. Sep 24th, 2024

अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल !

- बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यद्वारा सपथ

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिए लगत्तै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल हुनुभएको हो । उहाँलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।

यस अघि नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो । राससका अनुसार शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसक्नुभएको छ । उहाँ देशकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहमा रहनु भएकी शाक्य मुख्यमन्त्री पद पाउने निश्चित भएपछि नेपालको साथ छोडेर केपी शर्मा ओली पक्षतिर लाग्नु भएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुनुहुन्छ । आजै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएकै दिन शाक्यले आफ्नै चातुर्यका कारण मुख्यमन्त्री पद पाउन सफल हुनुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना ।

Facebook Comments