Tue. Sep 24th, 2024

कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियाे

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका-१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ ।

भुलुक-भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।

सूचनापछि घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिनुभयो । ‘काठमाण्डाै उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो’, श्रेष्ठले भन्नुभयो ।

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताउनुभयो । कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आकलन गर्न नसकिने जनाउनुभयो ।

घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताउनुभयो । ‘सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ’, उहाँले भन्नुभयो । झन्डै एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उहाँको भनाइ छ ।

फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भिड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ ।

कपन प्रहरी चौकी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिनुभयो । साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उहाँले जानकारी दिनुभयो । उज्यालो अनलाईन

Facebook Comments