Tue. Sep 24th, 2024

नेपाल समूह राष्ट्रपतिको निर्णय कुर्दै, आजै दल दर्ताको तयारी

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहलाई नयाँ दल दर्ता गर्न सहज भएको हो ।

सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ  । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गरे आज नै नयाँ पार्टी दर्ता गर्ने माधव नेपाल पक्षका नेता मेटमणी चौधरीले जानकारी दिनुभयो ।

केपी ओली सुध्रने कुनै संकेत नदेखेपछि आफुहरु अगाडी बढेको र अब राष्ट्रपतिलाई पर्खिरहेको चौधरीले बताउनुभयो । राष्ट्रपतिले आजनै अध्यादेश जारी गर्नुभयो भने आज नै हामी निर्वाचन आयोग पुगेर दर्ता गराउछौँ ।

२० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको पनि पर्याप्त हुनेछ । आफूहरुसँग ४० प्रतिशत बढी सांसद रहेको नेपाल समूहको दाबी छ । नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाएको छ  । यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको नेताहरूको भनाइ छ ।

त्यस्तै, पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन् ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने प्रस्ताव आएको एक नेताले बताउनुभयो । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा राख्ने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन सहज हुने व्यवस्थासहितको अध्यादेश पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ । यो अध्यादेशले माधव नेपाल पक्षलाई थप सहज बनाइदिएको छ । रे न्यूज डेली

Facebook Comments